काठमाडौं, माघ २ :

आईसीएफसी फाइनान्स लिमिटेडले मुनाफाबाट चुक्ता पुँजीको पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको  छ ।

फाइनान्सको हिजो (सोमबार) काठमाडौंमा सम्पन्न २१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो । साथै वार्षिक साधारणसभाले आर्थिक वर्ष ०८१/८२ का लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्य आगामी चार चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । 

चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रहेका फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैंकिङ सेवा दिँदै आएको छ । साथै, संस्थाले चालु आवको असोज मसान्तसम्म १८ अर्ब ६३ करोड निक्षेप संकलन र १५ अर्ब ४३ करोड कर्जा प्रवाह गरिसकेको छ ।