
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बन्दै गएको छ ।
उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मङ्सिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।
गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ मा गरी चार सय ५४ जना महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो ।
आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा महिलालाई अस्पतालसम्म पुर्याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ ।
एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रबाट अस्पतालसम्म पुग्न सवारी साधन नपाइने भएकाले त्यसैलाई मध्यनजर गरी अभियान सञ्चालन गरिएको हो । निःशुल्क एम्बुलेन्स सेवाले ग्रामीण भेगका गर्भवती महिलाहरुलाई अस्पतालसम्म पुग्न सहज भएको वडा नं. १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा पनि अभियान निरन्तर चलिरहेकोले अझै प्रभावकारी बनाउदै लैजाने योजनामा रहेको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताउनुभयो ।