
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापन सुधारका सन्दर्भमा भएका प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गर्नुभएको छ ।
अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गर्नुभएको हो । बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौँ), भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (काठमाडौँ) र कान्ति बाल अस्पताल (महाराजगञ्ज, काठमाडौँ)को प्रगति विवरणमा सार्वजनिक गरिएको छ ।
त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) जिपी कोइराला रााष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र (दुलेगौँडा तनहुँ), डडेलधुरा अस्पताल (डडेलधुरा), वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल, काठमाडौँ) को विवरण सार्वजनिक गरिएको हो ।
सङ्घीय अस्पतालको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन ३ गते सङ्घीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरुसँग संयुक्त बैठक बसेर नौ बुँदे निर्णय भएको थियो । निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरुलाई पत्राचार गरेको थियो ।
अस्पतालहरुले भीड नियन्त्रण र व्यवस्थापन गर्ज अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (इएचएस), बहिरङ्ग (ओपीडी) सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना÷डिस्चार्जबीचमा समन्वय, चिकित्सकहरुको राउन्डको तालिका तय, डिजिटल प्रणालीको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीलगायत कार्यलाई प्राथमिकता दिएको अस्पतालहरुको विवरणमा उल्लेख छ ।
त्यसैगरी औषधिको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरिएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको रिपोर्ट कार्डमा समावेश छ । बिरामी र आगन्तुकका लागि जाँच र सहायता कक्षको व्यवस्था गरिएकाले अस्पतालका सेवालाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगिएको रिपोर्ट कार्डमा उल्लेख छ ।