
मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले जुसुकै पृष्ठभूमिका भए पनि आफूसँग जोडिनेहरु आफ्नो अभियानका सदस्य हुने बताएका छन्।
धनगढीमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी समेत गरे ।
‘हिजो कसले कसलाई सर्मथन गरेको थियो, उनले भने, ‘अहिले मेरो साथमा आएपछि ती मातृभूमि जागर अभियानका युवाहरु हुन्।’
रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा कुनै टिप्पणी नगर्ने नचाहेका रावलले राष्ट्रको हितमा अगाडि आउने बालेन साह लगायत सबैसँग मिलेर अगाडि बढ्ने बताए ।
उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आफू त्यसमै लागेको बताए ।रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे ।
रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाएका थिए । पत्रकार भेटघाटपछि रावल गृहजिल्ला अछामतर्फ प्रस्थान गरेका छन् ।
एमालेबाट निस्कासनमा परेपछि पुस १७ मा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’ को नामबाट देशदौडाहा गरिरहेका छन् ।