
आईसीसी यु- १९ महिला टी- २० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ।
आज नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेश विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२ : १५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा बङ्गलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।
नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।
नेपाली टोलीमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् ।
त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन्।
शनिबार पहिलो खेल अस्ट्रेलिया र स्कटल्याण्डले बिहान ८ : १५ बजे खेल्न सुरु गर्नेछन् भने दोस्रो खेलमा सोही समयमा इंग्ल्याण्ड र आरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। आजको अर्को खेल नाइजेरिया र सीमोवाबीच हुनेछ।