काठमाडौँ, माघ ७ :

निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा निर्माण गरेको चलचित्र ‘दुःखी आत्मा’ आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।

उहाँले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन् । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।”

निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए । चलचित्रको सार्वजनिक श्रव्यदृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । 

समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएको उनले बताए ।

‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेका छन्। 

हिमाल कडरिया निर्माता रहेको चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।