
हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
चङ्खेली गाउँपालिका- १ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु ४ त ७७२० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।
अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
दुर्घटनामा चङ्खेली- १ का ४० वर्षीय मानबहादुर बोहराको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।
सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा पनि घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्र्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका- १४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको हो ।