
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १ सय ७३ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले जारी गरेको विज्ञप्तीमा सोमबार दिउँसो (साउन २८) सम्म विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको छ ।
साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २३ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय १२ वटा पशु चौँपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।