
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (बुधबार) रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुने तयारी छ ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी जारी भएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान लिइएको थियो ।
उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी परेको हो ।
लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
बुटवल पछि अब उनी चितवन र पर्सा अदालतमा पनि बयान दिन जानुपर्ने छ । यस अघि उनले चितवन र पर्सा दुवैमा सरकारी वकिल समक्ष बयान दिइसकेका छन् ।
रूपन्देही अदालतमा बयान दिनका लागि हिजो नै लामिछाने बुटवल पुगिसकेका छन् ।