काठमाडौं, माघ ११ :

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औं वार्षिकोत्सव बिहीबार भव्यताका साथ मनाएको ।

वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीको सहागिता थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सिर्जनामा अगाउन आग्रह गर्दै औसत कार्यभन्दा असाधारण कार्य गर्न अनुरोध गरे । उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरु बैंकलाई उछिन्ने गरी कार्य गर्न शुभकामना दिए ।

उनले बैंकको ६०औं वार्षिककोसवका अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार २०८१ विमोचन पनि गरे । बैंकको ६०औं वार्षिककोसवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरे । अर्थमन्त्री पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्विच थिचेर डिजिलट माध्यमबाट उद्घाटन पनि गरे । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह-अवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्नलायक भएको बताए । यो बैंकको पुँजीको विकासका लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको बताए । बैंक सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए ।

उनले यस बैंकले सुन खरिद-बिक्री गर्ने कार्यसमेत सुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराउँदै भर्खरै आव ०८०/८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पुस २९ गते १९औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको जानकारी गराए । २०८१ पुस मसान्तमा बैंकको कुल निक्षेप चार खर्ब ५० अर्ब, कुल कर्जा सापट दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ ।

उनले २०८१ पुस मसान्तमा बैंकको कोषको लागत तीन दशमलव ८१ प्रतिशत तथा आधारदर पाँच दशमलव ४४ प्रतिशत रहेको बताए । उनले यसै आर्थिक वर्षबाट हामीले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरु मार्फत समस्त देसबासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरु ल्याएको जानकारी दिए ।

काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल

कार्यक्रममा पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की, बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दीपेन्द्र कार्की, रा.वा.बैंक पूर्वकर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच बैंकको ६०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । बैंक सञ्चलक समितिका अध्यक्ष दिलीपकुमार ढुंगाना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारणप्रति बैंकिङ सचेतना गर्ने उद्देश्यले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।

बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानरसहित भद्रकाली, सहिदगेट, न्युरोडगेट, रत्नपार्क, राष्ट्रिय सभागृह मोड र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको छ : गभर्नर

६० वर्षअघि २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको यो बैंकसँग कारोबार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाखभन्दा बढी पुगेको छ । भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालय सञ्चालनमा छन् । डिजिटल बैंकिङ क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

कार्यक्रममा बैंकका सेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्वअध्यक्षहरु, पूर्वप्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उपप्रमुखहरु, शाखा प्रबन्धकहरुलगायत कर्मचारीको उपस्थिति थियो ।