काठमाडौँ, साउन ३१ :

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले हाल देशभर साधारणतया बदली रहेको हो।

मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

त्यस्तै आज राती पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।