
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।
वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो ।
विभागका अनुसार गत आव भन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ । यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।
यसैगरी गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताए ।
उनका अनुसार मन्त्रालय अन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको छ । उनले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजारले जोगिएको बताए ।