काठमाडौँ, माघ १५ :

नइ प्रकाशनले २०८० सालको ‘नइ पुरस्कार’ साहित्यका विविध क्षेत्रमा समर्पित पाँच जनालाई दिने निर्णय गरेको छ ।

आइतबार बसेको नइ प्रकाशनको बैठकले नेपाली भाषासाहित्यको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका कृष्णप्रसाद बस्याललाई ६० हजार रुपैयाँको राशीसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने भएको छ । 

त्यस्तै, साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’, काठमाडौँ उपत्यका बाहिर झापाका समाजसेवी धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हितमा क्रियाशील पोखराकी रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ ।

यी तीनै जनाका लागि जनही पचास- पचास हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।

यसैगरी, थाइल्यान्डमा सम्पन्न विश्वका ४४ राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित  झापाकी मनीषा राजवंशीलाई २५ हजार रुपैया राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गर्ने निर्णय भएको सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।