इलाम, माघ १५ :

इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । 

आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।

चुलाचुली गाउँपालिका- ३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिए ।

चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजक रङ्गमञ्चका एक नाटक मञ्चन हुनेछन् । 

नाट्य महोत्सवको पहिलो दिन आज आयोजक चालचुली रङ्गमञ्चले  ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन हुनेछ ।

त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपाली रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने जनाइएको छ ।