काठमाडौं, माघ १८ :

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘उद्यमशीलता र जनशक्ति विकास : आईटी क्षेत्रको लागि तयारी’ शीर्षकमा भएको सामूहिक छलफलमा बोल्ने वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् । इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आईटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नसके वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणका लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लबिइङ गरिरहेका छौं ।’

अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनको भनाइ छ । उनले थपे, ‘सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनुपर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टिकल एजुकेसनलाई अगाडि बढाएर ११/१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढ्न सहजीकरण गर्नुपर्छ ।’

युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरका रुपमा लिनुपर्ने उनको राय छ । ‘अवसर चुनौतीका रुपमा आउने र चुनौती आउनेबित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ,’ उनले भने, ‘अरुले के सोचिरहेका छ भन्ने कुरा आफूले सोचेर उद्यम सुरु गर्न सक्यो र त्यसलाई गहन रुपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप सुरु गर्न त्यति गाह्रो काम पनि छैन ।’ त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यावसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन् । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्ना तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।

उनले थपे, ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोड्ने भन्ने विषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यावसायिक सीप सिकाउने गरी पाठ्यक्रम निर्माण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ ।’ अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने विषय प्रा.डा. चालिसेले बताए ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डिङसहितको प्रचार गर्न आवश्यक भएको बताएका छन् । उनले देशको भूगोलअनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताए । ‘स्टार्टअप, उद्यमशीलता र व्यावासयिक सीप तथा तालिमका विषय भूगोलअनुसार जनतालाई जागृत गर्न आवश्यक छ,’ उनले थपे, ‘बीपीले भनेको समग्र भूगोलमा रहेको जनताले आफ्नो हैसियतअनुसारको काम गरेर स्वतन्त्र रुपमा समृद्धिका साथ बाँच्न पाउने अधिकार नै मानवाधिकार हो । विश्वविद्यालय, राज्य र अभिवाभक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधार नै उद्यम हो ।’

योङ इनोभेसनका संस्थापक विभूषण विष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताएका छन् । जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याएका छन् । कक्षाकोठाको पढाइ र व्यवहारमा लागु गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए ।

उनले थपे, ‘उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो आइडियाको मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।’

उनले पनि हरेक संकायमा आईटी र स्टार्टअपको आधारभूत ज्ञान दिन आवश्यक रहेकोसमेत बताएका छन् । उनले थपे, ‘हाम्रो प्रतिस्पर्धी अन्य मुलुकको स्टार्टअप गरिरहेकाहरु हुनसक्छन्, त्यो ग्लोबल बजारमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको उद्यमीहरुलाई प्रशिक्षित गर्न आवश्यक छ ।’

त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने उनले बताएकी छन् । उनले थपिन्, ‘सुरुमै उद्यमशील बन्ने आधारका लागि सीप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गर्नुपर्छ ।’

तीनै तहका सरकारले जनशक्ति उत्पादनमा ध्यान दिएर लगानीको सहज वातावरण गर्न सकेको अवस्थामा आईटी क्षेत्रमा भएका सम्भावनाहरुलाई अवसरका रुपमा उपयोग गर्न सकिन्छ । उनले भनिन्, ‘पछिल्लो समयमा सरकारका विभिन्न निकायहरु छन् । ती निकायले स्थानीय जनशक्तिलाई मद्दत गरेर सहयोग गर्न आवश्यक छ । व्यवसाय गर्ने विषय आफैँमा चुनौती छ । समाधानका लागि सहकार्य र सहयोग आवश्यक छ ।’

प्रविधिको विकासले अहिले स्टार्टअपका लागि सहयोग पुर्‍याएको भए पनि योग्य जनशक्तिको अभाव देखिएको पनि उनले बताएकी छन् । ‘स्टार्टअप सुरु गर्न आफूले गरेको उद्यमका लागि सीप विकास अनिवार्य हुन्छ,’ उनले थपे, ‘उद्यमका लागि प्रविधिको ज्ञानसँगै सीप निकै जरुरी छ । तर, हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण विषय भनेको समाजको ढाडस निकै राम्रो हुन्छ । हाम्रो राजनीतिक नेतृत्वले स्टार्टअपका लागि आवश्यक सहयोग गर्ने संस्कृति पनि विकास हुन सकेको छैन । जनशक्ति विकास निकै महत्त्वपूर्ण विषय हो ।’

नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बुधबारदेखि सुरु भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्धनसमेत हुने उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक उर्मिला थपलियाको विश्वास छ ।

यो पनि...

‘सरकारको सपोर्टविना स्टार्टअपले गति लिन सक्दैन’
‘नेपालमा स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक छ’
प्रभावकारी रुपमा ‘स्टार्ट अप’ चलाउन सके रोजगारीमा क्रान्ति हुन्छ : देउवा
साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न स्टार्ट अप समिट गरिएको हो : मीन विश्वकर्मा
उद्योगमैत्री वातावरण बनाउन अहोरात्र खट्छौं : उर्मिला थपलिया