काठमाडौँ, माघ १८ :

ए डिभिजन टोली सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४- ३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

निर्धारित ९०औँ मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका  थिए । त्यसपछि पेनाल्टी सुटआउटमा ३- ३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । 

सडन डेथमा सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे ।

यस्तै बागमतीका नवीन लामा, फोडे फोफनासेन्जल एलेक्सले मात्रै गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोल रक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।

प्रतियोगिताको विजेता टोली सङ्कटाले २६ लाख तथा उपविजेता  बागमतीले १३ लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित ७५ हजार पुरस्कार प्राप्त गरे । 

त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए ।

विजेताहरुलाई नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहदुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गरेका छन्।

नेपाली कांग्रेसको भातृ सङ्गठन लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

 

 

 

 

भिडियो/तस्बिर : दिलमन्यु सिल्वाल