काठमाडौँ, साउन ३२ :

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम रहेको हुदा ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।