
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा खुल्ने भएको छ ।
विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक छ घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।
कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।
अहिले विमानस्थलको दक्षिण- पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ ।
पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सक्ने पनि उनले जानकारी दिए ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०- ८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।