
जुम्लामा रहेको यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारीचालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव ०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।
महतका अनुसार चालु आवको ६ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार र सवारीसाधन करतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, चालु आवको यही अवधिमा पुस मसान्तसम्म ११३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुई सय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । -रासस