
पर्वतका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन्न भएका छन् ।
पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सम्पन्न भएका हुन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट एक सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा एक सय २२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश मातहतका एक सय ३३ योजना र सङ्घीय सरकार अन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ ६ वटा ठूला आयोजना सम्पन्न भएका छन भने सातवटा मर्मत गरिएका हुन् ।
कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले २० वटा योजना बहुवर्षे ठेक्कामा गएको र विवादका कारण वन क्षेत्रलगायत १० वटा योजना कार्यान्वयन हुन नसकी रकम फ्रिज रहेको बताउनुभयो ।
गत आवमा डिमुवा-राम्जा-चित्रे साढे पाँच किलोमिटर र चिसापानी- हातेमालो चोक-त्रिवेणी- वहाकीभञ्याङ-पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ ।
यसैगरी सेराबेँसी-मोहरिया- भुकताङ्, फलेवास नगरपालिका- ३ स्थित नुवार-सहिदचोक-चुुचुन देउराली सडक पाँच सय ६० मिटर र वाँझावारी- राम्चे-चौतारा-शङ्करपोखरी सडक पाँच सय ६० मिटर, मख-ठूलीपोखरी-देउपुर-देउराली-जोगीथुम दुई किलोमिटर, मिलनचोक- धाइरिङ-घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।
सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ। पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ ।