काठमाडौं, माघ २२ :

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई  सूचीकृत हुन पुनः आग्रह गरेको छ ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गरी फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई आफ्ना प्लाटफर्म नेपालमा सूचिकृत गर्न आग्रह गरेको हो । 

सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ । हालसम्म नेपालमा टिकटक, भाइबर र विटकसहित तीनवटा मात्रै सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत भएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्लाटफर्महरूले नेपालमा पालना र सञ्चालन गर्नुपर्ने चार बुँदे सूचीको पहिलो बुँदामा कम्पनीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने कार्य गर्नुपर्ने , दोस्रोमा, सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर साइबर सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने कार्य सञ्चालन गर्नुपर्ने , तेस्रोमा, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्ने र चौथो बुँदामा नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्नुपर्ने भनिएको छ  ।

सरकारले पटक-पटक अनुरोध गर्दासमेत नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेका फेसबुक र म्यासेन्जरको प्यारेन्ट कम्पनी मेटा, एक्स, लिंक्डइनलगायतले अटेर गर्दै आएका छन् ।