
तस्बिर : माओवादी अध्यक्ष दाहालको सचिवालय
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक उपचार केन्द्रका रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन् ।
म्याग्दीको बेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म मंगलबार बिहान पैदल यात्रा गरेका दाहालले कुण्ड संरक्षणमा जोड दिए । प्राकृतिक चिकित्सालयका रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्यास्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।
आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेन्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताए ।
आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उनले यहाँको समस्याबारे पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताए ।
अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
बेनी-ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले यसको काम अघि बढिसकेको बताए । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीय बासिन्दाले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं,’ उनले भने । त्यस क्रममा अध्यक्ष दाहालले स्थानीय बासिन्दासँग अन्तर्क्रिया पनि गरेको उनको सचिवालयले जनाएको छ ।