
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि सुरु आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १- ० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लब क्वाटर फाइनलमा पुगेको छ ।
पुलिसका उज्ज्वल राईले खेलको ३६ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । राईले कर्नरमा प्राप्त भएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल हुनुभएको थियो । पुलिससँगको हारपछि आयोजक सहारा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ ।
प्रतियोगिता उद्घाटनका अवसरमा सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान नेपाली टोलीका रक्षक सनिष श्रेष्ठलाई प्रदान गरिएको थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद ५० हजार पाँच सय पाँच र सम्मानपत्रबाट उनलाई सम्मान गरे । तनहुँको पुर्कोटका सनिष विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् ।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ ।
चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी छन् ।
यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
विदेशी टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।
क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट सङ्कलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरूको फुटबल प्रशिक्षणसँगै निःशुल्क आवाश सुविधा प्रदान गर्दै आएको छ ।