काठमाडौं, माघ २५ :

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्‌को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसद्‌मै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । सहिदका सपना र संकल्पतिर फर्किसक्यौं,’ अध्यक्ष दाहालले भने, ‘तपाईंहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं ।’

सत्तारुढ दलहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्दै उनले अब विपक्षीको डरले एक-अर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गर्नुभयो । पर्दैन । ‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस्  । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन । यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ,’ उनले भने, ‘हामी सरकार बनाउनेछौं तर आफ्नै सामर्थ्यमा सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसद्‌को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’