
गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल भर्सन’ को अडियो सार्वजनिक गरेका छन् ।
गायिका मङ्गेशकरको तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा आज हात्तीसारस्थित नेपाल हाउसमा आयोजित ‘लता मङ्गेशकर लव इन मेमोरी’ कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।
गायक ढकालले उक्त गीतलाई गायिका मङ्गेशकरले गाएको अन्तिम व्यावसायिक गीत भएको बताए । “विश्व प्रसिद्ध गायिका मङ्गेशकरसँग गीत गाउन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । पुण्य तिथिका अवसरमा उहाँको एकल स्वर रहेको गीत सार्वजनिक गरेका हौँ”, गायक ढकालले भने। उनले चाँडै दृश्यलाई समावेश गरेर ‘म्युजिक भिडिओ’ पनि सार्वजनिक गर्ने जानकारी दिए ।
गायिका मङ्गेशकरले ‘बाचुन्जेलीलाई’ गाउनुअघि ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ ‘तिमीलाई शुभकामना’ लगायत गीत गाएकी थिइन् । तीन वर्षअघि आजकै दिन गायिका मङ्गेशकरको निधन भएको थियो ।