
पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्षले आफ्नो आन्दोलनको कार्यक्रमलाई थप कडा बनाएका छन्। नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
जसअनुसार उनीहरुले आगामी फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’गर्ने, केबलकार अनुमति र सम्झौता खारेजीको माग गर्दै फुङलिङ नगरपालिका घेराउ गर्ने, काठमाडौं, इटहरी र विर्तामोडमा विरोध सभा गर्ने कार्यक्रम घोषणा गरेका छन्।
सोमबार पत्रकार सम्मेलन गरी ‘नो केबलकार’ समूहले आन्दोलनरत पक्षले सरकारको शंका उत्थान गर्दै संघर्षको विभिन्न चरणहरूको घोषणा गरेको हो।
आन्दोलनरत पक्षका प्रतिनिधिहरूले सरकारी प्रतिबद्धता र वार्ता वातावरण निर्माणको कार्यमा चित्तबुझ्दो प्रगति नभएको आरोप लगाएका छन्।
सहसचिव स्तरिय सरकारी वार्ता समिति र आन्दोलनरत पक्षबीच दुई चरणमा वार्ता सम्पन्न भइसकेको छ । ६ बुँदे सहमतिसँगै आन्दोलनरत पक्षले यातायात बन्द स्थगन गरेको थियो। आन्दोलनरत पक्षले आफ्नो संघर्षलाई निरन्तरता दिने र वार्ता र सम्वादको माध्यमबाट समाधानको लागि प्रतिबद्धता पुनः दोहोर्याएको छ।
यसैबीच,फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ‘नो केबलकार समूह’लाई वार्ता र समाधानको पक्षमा रहने अपिल गरेका छन्। सोमबार बिहान नगरपालिकाका सात वडाध्यक्षहरूको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा मादेनले वार्ताबाट नभाग्न र समाधान निकालेर निकाल्न आग्रह गरेका हुन् ।
उपप्रमुख तारा भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू र गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले आन्दोलनरत समूहलाई हडताल र बन्द गरेर जनता र नागरिकलाई दुःख दिने कार्यक्रम नराख्न आग्रह गरेका छन्।
केबलकार निर्माणको पक्षमा रहेका अधिकांश वडाध्यक्षहरूले भने बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न र वास्तविक जनताको आवाज उठाउन मिडियाकर्मीलाई आग्रह गरे।
फुङलिङ-९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवादको कारणले समुदायलाई विभाजन नगर्न चेतावनी दिए। तथापि, विरोधी पक्षले यसको पर्यावरणीय र सामाजिक प्रभावको विरोध गर्दै आएको छ।