
डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा बस दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका छन् ।
घाईते हुनेहरुमा सायल गाउँपालिका–४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सायल गाउँपालिका–३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन् । आदर्श गाउँपालिका–४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा र आदर्श गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।
बस चालक शिखर नगरपालिका–१० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका–२ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट दिपायलतर्फ गईरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस आज बिहान करीब साढे ४ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।
बस सडकबाट स्थानीयको घर माथि खसेको थियो । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन् ।
त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरूँ नेगी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
गाडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् ।
घाइतेहरूको उपचार भइरहेको छ ।