
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’ का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालय-घर सरसफाइ अभियान सुरु गरेको हो ।
निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर- कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आमनागरिकसँग आग्रह समेत गरेको छ।
शुक्रबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय वरपर सरसफाइ गर्नुभएको हो। मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने मन्त्रालयको लक्ष्य छ ।
अभियानबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै सङ्घीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरु गरेको बताउनुभयो । उहाँले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिन सुझाव दिनुभयो ।
प्रवक्ता बुढाथोकीले भदौ ६ गते सम्बन्धित समिति र सातै प्रदेशका स्वास्थ्यमन्त्रीसँग बैठक राखेर अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले हरेक नेपालीलाई शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन पनि आग्रह गर्नुभयो ।