काठमाडौं, फागुन २ :

अहिलेसम्म काठमाडौं महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएका छन् ।

सडकमा गुडिरहेका सवारीसाधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका हुन् ।

महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहोरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरिएको हो ।

‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

तीनपाङ्ग्रे सवारीका हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । दुईपाङ्ग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

सहरका सडकमा गुडिरहेका सवारीसाधनहरुले मापदण्ड पालनाको अवस्थामा जानकारी लिन गएको पुस २९ गतेदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा प्रदूषण जाँच गरिरहेको छ । जाँच सुरुवातका चरणमा फेल भएका सवारीसाधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ ।

सचेतनात्मक कार्यक्रमका रुपमा सुझाव दिँदा पनि आफ्ना सवारीसाधनलाई मर्मत सम्भार गरेर दुरुस्त अवस्थामा चलाउने गरेको नपाइएपछि फेल हुने सवारीसाधनका चालकको कागजपत्र लिएर पाँच सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ । वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्ममा ५५ सवारीचालकलाई जरिवाना तिराइएको छ । यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारीसाधन सञ्चालनमा रोक लगाउने महानगरपालिकाको तयारी छ ।

परीक्षणका क्रममा सवारीचालक र सहचालकलाई सम्झाउने, कानुनी व्यवस्थाबारे जानकारी दिने, सवारीधनीलाई एसएमएसमार्फत सवारीसाधनलाई चुस्त अवस्थामा राख्न आग्रह गर्ने, दोस्रोपटक जाँच गर्दा प्रदूषण मापदण्डविपरीत पाइए कानुनी कारबाही हुने जानकारी गराउनेलगायत प्रक्रियाबाट सुधारको मौका दिइएको छ ।

अहिलेसम्ममा ठमेल, मैतीदेवी, चाबहिल, खुशिँबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ,  बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारी साधनहरुमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बोलेरो, सामान बोक्ने ट्रकलगायत सवारीसाधन छन् ।