
प्रधानमन्त्री केपी ओलीलाई नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा महत्त्वपूर्ण आयोजना धनगढी-खुटिया-दिपायल-बझाङ चैनपुर हुँदै उरै भञ्ज्याङ सडक निर्माणका विषयमा प्रश्न सोधेका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार प्रश्नोत्तर कार्यक्रममा सांसद आलेले प्रधानमन्त्रीलाई प्रश्न राख्दै उक्त सडक सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण आयोजना भएको र अहिले एक अर्बको बहुवर्षीय योजनाका लागि स्रोत सुनिश्चितता भई ठेक्काको चरणमा भए पनि यो बजेट सडक निर्माण पूरा गर्न अति न्यून भएको हुँदा आउँदो बजेटमा सडक निर्माणलाई तीव्रताका साथ सम्पन्न गर्न दुई अर्ब बजेट विनियोजन गर्नुपर्ने आवश्यकता भएकाले यस विषयमा प्रधानमन्त्रीको प्रतिबद्धतासहितको उत्तर दिन हुन अनुरोध गरेका थिए ।
सांसद आलेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘धनगढीदेखि दिपायल हुँदै उरै भञ्ज्याङसम्म निर्माण हुने सडकले यात्रा अवधि उल्लेखनीय मात्रामा घट्न जाने हुनाले यसको निर्माण र स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको छ । सरकारले हालै स्रोत सुनिश्चितता प्रदान गरेकोले आयोजनाको केही दिनमा नै ठेक्का प्रक्रिया सुरु हुनेछ ।’
यसैगरी सांसद आलेले दोस्रो प्रश्नमा सहजपुर-बीपीनगर-बोगटान-दिपायल सडकमा २०७६ फागुन ७ गते तपाईं नै प्रधानमन्त्री हुँदा डोटी जिल्लाको बीपीनगरमा शिलान्यास गरी सहजपुरदेखि अत्तरकाँडा नजिकसम्म ५० किमि सडक कालोपत्रे निर्माण भएको अवस्था छ । तर सडकलाई बोगटानसम्म थप अगाडि कालोपत्रे गर्न भारतीय एक्जिम बैंकको रकम सडक सुधार परियोजनाअन्तर्गत सडक विस्तार गर्नुपर्ने भएकाले सो सडकलाई अत्तरकाडादेखि बोगटानसम्म कालोपत्रे गर्न अरु सबै प्रक्रिया पूरा भइसकेकाले भारत सरकारले परियोजना स्वीकृत गरेपछि मात्र आयोजनाले टेन्डर आह्वान गर्ने भएकाले परियोजना स्वीकृतिका लागि पहल गर्न पनि अनुरोध गरेका थिए ।
उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सहजपुर-बोगटान-दिपायल सडकका सम्बन्धमा नेपाल सरकार र भारतबीच सम्पन्न सम्झौताअनुसार करिब ५० किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको बताए ।
उनले भने, ‘उक्त सडकको बाँकी खण्डको निर्माणका लागि भारत सरकारसँग कूटनीतिक पहल गरिएकामा उक्त खण्डलाई एलओसी-३ मा समावेश भएको जानकारी प्राप्त भएको छ । यस आयोजनाको निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’