रुकुमपूर्व, भदौ ३ :
लगातार वर्षापछि आएको पहिरोले घर भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ ।
पहिरोले आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका-२ मूल पानीमा रहेको बेथेल मण्डली भत्किँदा वडा नम्वर-१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले निर्माणाधीन मण्डली भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो ।
उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भई सोही मण्डलीमा बस्ने १८ वर्षीया नौभा घर्ती मगर घाइते भएका छन् । उहाँलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको छ ।
उक्त मण्डलीमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।