
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङ सुरु गरेको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिएका हुन् । उनले मिडिया ब्रिफ्रिङमा मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी दिने बताए । उनले नेपालको संविधानले मौलिक हकका रुपमा सूचनाको हकलाई प्रत्याभूत गरेकाले सर्वसाधारणमा सहज रुपमा सूचना पुर्याउन ब्रिफिङ सुरु गरेको बताए । ब्रिफिङ हरेक साताको शुक्रबार दिउँसो साढे १ बजे हुने उनको भनाइ छ ।
‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गत एक हप्तामा भएका नीतिगत निर्णय, प्रमुख कार्यहरु तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना तथा जानकारीहरु सर्वसाधारणमा सहजरुपमा प्राप्त होस् भन्ने उद्देश्यले साप्ताहिकरुपमा ब्रिफिङ गर्ने निर्णय गरिएको छ । नेपालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक प्रत्याभूत गरेको हुनाले आम नागरिकलाई यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका निर्णयहरु चाहे त्यो नीतिगत होस् चाहे कार्यगत रुपमा होस् ती चिजहरु पनि आमनागरिकलाई जानकारी दिने यस मिडिया ब्रिफिङको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परामर्शमा सुरु भएको मिडिया ब्रिफिङ हरेक शुक्रबार दिउँसो साढे १ बजे सञ्चालन हुनेछ । बढीमा आधा घण्टा र नभए १५ मिनेट मिडिया ब्रिफिङ रहने यहाँहरुलाई जानकारी गराउँछु ।’
प्रवक्ता डा. बुढाथोकीले सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरको निवारण गर्ने लक्ष्य राखेकाले समयमै उपचार गर्न सकियो भने पाठेघरको मुखको क्यान्सर निको हुन्छ भने अभियान सञ्चालन गरेको बताए । हालसम्म विभिन्न विधिबाट ९२ हजार २७३ महिलाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरेको उनको भनाइ छ । उनले ३० देखि ४९ वर्षका महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट बच्न स्क्रिनिङ गराउन आग्रह गरे । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ देशभर सञ्चालन भइरहेको उनको भनाइ छ ।
‘अब पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङतर्फ जान चाहन्छु, किनभने हामीले पाठेघरको मुखको क्यान्सर नलागोस् भन्नका लागि किशोरीहरुलाई खोपको व्यवस्था गरिसकेका छौँ भने जो ३० वर्षभन्दा माथि हुनुहुन्छ उहाँहरुको समयमै पहिचान गरी उपचार गर्न सकियोस् र समयमै निदान गर्न सकियो भने पाठेघरको मुखको क्यान्सरलाई निको पार्न सकिन्छ भन्ने उद्देश्यका साथ हिँडेको हुनाले नेपाल सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य पनि लिएको छ । यही लक्ष्यअनुसार नेपाल सरकारले एचपीभी खोपसँग देशभरका ३० देखि ४९ वर्षसम्मका महिलाका पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्य एकसाथ देशभर सञ्चालन गरेको छ,’ उनले भने, ‘यस आर्थिक वर्षको मध्यसम्ममा भीआईए विधिबाट ६० हजार नौ सय ३७ एपिबी डीएनए विधिबाट ९ हजार नौ सय २७ र प्याफ विधिबाट २१ हजार चार सय नौ गरी जम्मा ९२ हजार २ सय ७३ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराउनुभएको जानकारी गराउन चाहन्छु । यदि तपाईं वा तपाईंको परिवारमा पनि ३० देखि ४९ वर्षसम्मका महिला हुनुहुन्छ भने पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराई यस रोगबाट बच्न र बचाउन र नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग गर्नुहुन अनुरोध गर्दछु ।’
प्रवक्ता डा. बुढाथोकीले नसर्ने रोगका पहिचानका लागि फागुन महिनाभर एकमहिने अभियान सञ्चालन भइरहेकाले मधुमेह, उच्च रक्तचाप, मृगौलारोगलगायत प्राणघात रोगबारे नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक प्रगति समीक्षाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ८१.८ अंकसहित तेस्रो स्थानमा रहेको जानकारी दिए ।