काठमाडौँ, फागुन १२ :

प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । 

गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनेछन् । उनलाई नेपाल आउने इच्छा भएकाले कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मोक्तानले बताए । गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।  

सङ्गीतकार दीपक जङ्गमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।