चितवन, भदौ ४ :

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने अस्पतालमा सो सेवा लिन विगतमा एक सातासम्म पालो कुर्नुपर्ने थियो ।
 
अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा नितु शर्माले विभागमा रिक्त दुईजना रेडियोलोजिष्ट थप गरेर अतिरिक्त समयमा सेवा दिन थालेपछि पालो कुर्नुपर्ने बाध्यता हटेको बताउनुभयो। नयाँ व्यवस्थापन आएपछि पाँच वर्षदेखि रिक्त दुईजनाको दरबन्दी पूरा भएको छ ।
 
योसँगै बिहान ८ बजेबाट साँझ ८ बजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताउनुभयो । विभागमा सातजना रेडियोलोजिष्टको दरबन्दी  छ । यसअघि पाँचजना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । 

अहिले अस्पतालमा एमआरआई दुई दिनमा पालो आउने गरेका छ । पहिले एमआरआई सेवा लिन दुई सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो । भिडियो एक्सरेमा पनि पालो कुर्नु पर्दैन । यो सेवा लिन पहिले दुई दिन कुर्नुपर्ने बाध्यता थियो ।