विराटनगर, फागुन १२ :

कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी गरिएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐन स्वच्छ वातावरण बनाउन र मानव जीवनलाई स्वच्छ वातावरणमा लैजान मद्दत गर्ने बताएका छन् । 

उनले वनमा देखिएका समस्यालाई समाधान गर्न नै यो ऐनलाई संशोधन गरेको प्रस्ट पार्दै पर्यापर्यटन, जलाशय, जलको मुहान, सिमसार क्षेत्रलाई संरक्षण संवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

मन्त्री मण्डलले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भनी गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भई विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भयो ।

सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरू विनोद राई, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ्ग, रामप्रसाद महतो र कमला दर्नालले आ- आफ्नो धारणा राखेका थिए ।