कैलाली, भदौ ४ :

कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका- ३ बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो । 

वि. सं २०७८ वैशाखमा २८ करोड ८१ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिले सम्म केही निर्णय भएको छैन । एक पटक रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भएपनि त्यसपछि कुनै छलफल वा निर्णय नभएको प्रजिअ मिश्रको भनाई छ ।

होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको उहाँले जानकारी दिनुभयो ।