युएई, फागुन १३ :

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। 

खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

उनले नेपालको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै केही तत्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन्। "केही समूह देशबारे नकारात्मक प्रचारमा लागिपरेका छन्, तर वास्तविकता फरक छ। 

‘नेपालमा अपार सम्भावना छ, र यसलाई सही रूपमा उपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ,’ महतले भने। उनले नेपालबारे नकारात्मक धारणा चिर्न विदेशमा रहेका नेपाली समुदाय, विशेष गरी जनसम्पर्क समितिका सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्वीकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे।

नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा. महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठुलो मद्दत गर्ने उल्लेख गरे। उनले नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारमा अत्यधिक निर्भर रहेको बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

विदेशमा रहेका नेपालीहरूले देशको आर्थिक विकासमा ठूलो भूमिका खेलिरहेको उल्लेख गर्दै, उनले वैदेशिक लगानी भित्र्याउन, नेपालको पर्यटन प्रवर्द्धन गर्न र विदेशमा नेपालको सही पहिचान बनाउन सकिने उपायबारे पनि छलफल गरे।