वीरगञ्ज, फागुन १३ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन् ।

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै उनले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताए ।

‘केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ,’उपराष्ट्रपति यादवले भने, ‘दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।’

उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको समेत बताए । उपराष्ट्रपति यादवले आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्नका लागि पनि अनुरोध गरे ।

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले ५० वर्षअघि वीरगञ्जको लोहारपट्टीमा पाँच श्ययाको आँखा अस्पताललाई अहिले एक सय ७५ श्ययाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताए ।

त्यस अवसरमा स्वर्गीय हीरालाल केडिया सम्मानबाट प्रा डा. सुनु दुलाल सम्मानित भए ।  दुई लाख ५१ हजार एक सय ५१ नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसैगरी दृष्टिविहीन बालबालिका तथा शारीरिक रूपमा अशक्त भएकालाई नगदसहित ह्विलचेयन पनि प्रदान गरिएको थियो । नेत्रज्योत्ति सङ्घका अध्यक्ष प्रा डा. चेतराज पन्त, प्रा डा. देवनारायण साहले नेपालको आँखाको उपचारमा पछिल्लो समय निकै राम्रो सुधार भएको बताए ।