झापा, फागुन १३ :

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफूहरु नलाग्ने बताएका छन् ।

पार्टीले सोमबार झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे । ‘सरकार फेर्ने पक्षमा लाग्दैनौं, कसरत पनि गर्दैनौं,’उनले भने, ‘हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।’

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उनले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताए ।

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराए ।

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनले बताए । अध्यक्ष दाहालले चिया किसान र श्रमिकका समस्या समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी  दिए ।