काठमाडौं, फागुन १४ :

प्रधानमन्त्री केपी ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।

जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यमा नयाँ भवन उपयोगी हुने ठानिएको छ ।

कलेजले हालसम्म एमबीबीएसमा दुई हजार दुई सय ६२, बीडीएसमा तीन सय ३५, एमडी/एमएस र एमडीएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवाअन्तर्गत डीएम एमसीएचमा आठ, बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी थिए ।