कैलाली, फागुन १५ :

धनगढीको फाप्ला मैदानमा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । 

आज भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधि जितेको हो । 

उपाधिसँगै भिमदत्तले नगद दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । 

भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । 

प्रतियोगितामा भिमदत्त नगरपालिका अरूण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद २५ हजार प्राप्त गरे । उनी दुई खेलमा ‘प्लेर अफ दि म्याच’ भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए । पुनर्वास नगरपालिका दीपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद १५ हजार प्राप्त गरे ।

उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए । त्रिवेणी नगरपालिकाका दीपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद १५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद १० हजार प्राप्त गरे ।