
भारी हिमपातका कारण माथिल्लो बागलुङका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो ।
बागलुङको ढोरपाटन नगरपालिका ९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भुजीलगायत ठाउँका बासिन्दा प्रभावित बनेका छन् ।
निसीखोला गाउँपालिका ६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो ।
हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन ९ का होटेल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए ।
शुक्रबार दिउँसो २ वर्षदेखि नै हिमपात हुन सुरु भएको उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले जनाए । बस्तीवरपर बाक्लो हिउँ पर्दा दैनिकी प्रभावित बनेको छ ।
‘एक/दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो । आज हिमपात नै भयो,’ उनले भने, ‘अहिले बाक्लो हिउँ परेको छ । ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन् । उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ । पुस-माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो ।’
लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने खुसी भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले राहत दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ ।
उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार दिउँसो १ बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका ६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठुला सहरमा चल्ने सवारी साधान ठप्प भएको उनको भनाइ छ ।
यो पनि…
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका केही स्थानमा वर्षा
शुक्रबार देशका अधिकांश भूभागमा वर्षा
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात