धनगढी, भदौ ५ :

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो ।

विधेयकमा थारु- रानाथारु समुदायको जनसङ्ख्याको अनुपातमा समावेशी कोटा निर्धारण नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीका  प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका गीता चौधरीले विरोध जनाउनुभएको थियो । तर विरोधका बाबजुद सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतले विधेयक पारित भएको घोषणा गर्नुभएको हो । 

थारु- रानाथारु समुदायको समावेशी कोटा जनसङ्ख्याको अनुपातमा निर्धारण हुनुपर्ने मागसहित दुवै समुदायका व्यक्तिले प्रदेश सभाको मूल गेटमै धर्ना दिएर विरोध जनाएका थिए । 

मुख्यमन्त्री कमलबहादुर शाहले संविधानमा व्यवस्था भए बमोजिम थारु-रानाथारु समुदायको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिनुभयो ।