काठमाडौं, फागुन २० :

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले  नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउन सक्दो प्रयास गर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले नेपाललाई एसिया कपमा छनोट गराउने प्रयास रहने पनि बताए।  नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा खुसी र उत्साहित रहेको जनाउँदै उनले नेपालमा फुटबलको अविश्वसनीय क्रेज देखेको  बताए।

‘नेपाललाई एसिया कपमा छनोट गराउन हर सम्भव प्रयास गर्नेछु,' उनले भने, 'एसिया कपमा नपुगे पनि टोलीलाई साफ च्याम्पियनसिप भने दिलाउन सक्छु भन्ने विश्वास छ।’

उनले अहिले भइरहेको खेलमा केही सुधार गर्नुपर्ने आवश्यकता औल्याउँदै उच्च मनोबलका साथ खेल्न जरुरी रहेको बताए। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग एक वर्षको सम्झौता गरेका रस आइतबार काठमाडौं आएका हुन्।