
अहिले देशका अधिकांश स्थानको मौसम सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
‘हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहेको छ । हाल सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ,’ महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
आज (मंगलबार) दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ । महाशाखाले सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहे जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
राति भने कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हिमपात र वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ । यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।