जुम्ला, फागुन २१ :

जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ। 

तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेका हुन् । 

पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीन वटा स्वास्थ्य चौकीको अघिल्लो तीन वर्षको सार्वजनिक तथ्याङ्कअनुसार करिब दुई सय बढी बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।
    
तीन वर्षको तथ्याङ्क अनुसार जुम्लाकोट सबैभन्दा बढीले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन् । आव २०७९- ८० मा ३७, आव २०८०- ८१ मा ३३ र चालु आवको माघसम्म २६ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य चौकीका इञ्चार्ज विराजु जिसीले जानकारी दिए । उनका अनुसार सोही तीन वर्षभित्र १६ जनालाई रिफर गरिएको छ ।

यस्तै तिला- ९ मा रहेको रासा स्वास्थ्य चौकीमा आव २०७९- ८० मा १९, आव २०८०- ८१ मा १८ र चालु आवको माघसम्म छ जनाले सेवा लिएका स्वास्थ्य चौकीका इञ्चार्ज दत्त रावतले जानकारी दिए । 

उनका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । पालिकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको रासा स्वास्थ्य चौकीले जनाएको छ ।

रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार आव २०७९- ८० मा ४० र गत आवमा २२ जनाले बर्थिङ सेन्टरबाट सेवा लिएका छन् । चालु आवको माघसम्म सेन्टर बन्द हुँदा सुत्केरी सेवा लिनबाट बञ्चित भएका उनको भनाइ छ ।

स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने प्रमुख लक्ष्य र सङ्कल्प रहेको स्वास्थ्य कार्यालयले बताएका छन् ।