नेपालगन्ज, फागुन २१ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । उनले आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकैले सरकार बदल्ने खेलमा आफूहरु नरहेको स्पष्ट गरे ।

कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो जनाएका हुन् । ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं,’ उनले भने, ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन् । त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं । हामीलाई जनतातिरै ठीक छ ।’

उनले तथाकथित दुईतिहाइको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको दाबी गरे । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइसके । बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन । भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन,’ उनले भने ।

‘पार्टी अभियानले राष्ट्रिय एकता मजबुत बनाउन योगदान गर्नेछ’
अध्यक्ष दाहालले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताए । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठुलो योगदान गर्ने उनले विश्वास व्यक्त गरे । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने उनले बताए ।

‘अहिले हामी अभियान भनेर नेताहरु जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौं,’ उनले भने, ‘जहाँ जान्छौं, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौं, जनताले खाने खाना खान्छौं र ती क्षेत्रका जनताले भागेका समस्याबारे खुलेर छलफल गर्छौं । जनतासँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसनजस्ता नागरिक समाजका अगुवा संस्थाहरुसँग पनि अन्तर्क्रिया गर्छौं, यसबाट पनि सम्बन्धित जिल्लाको अवस्था बुझ्न सहज भएको छ ।’

यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे । उनले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसद्‌मा आवाज उठाउने बताए ।

हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उनले हुलाकी मार्ग दशकौंको सपना भए पनि अलपत्र परेकाले आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा गरेको भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण प्रक्रियालाई अघि बढाएको जानकारी दिए ।