काठमाडौं, फागुन २१ :

सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अध्यादेशहरु प्रस्तुत गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट प्रस्तुत हुने ५ वटा अध्यादेशलाई पारित गर्न सत्तारुढ दलले  आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका छन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई एसएमएस पठाएर ह्विप जारी गरेका हुन् । त्यस्तै एमालेले समेत सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् ।

प्रतिनिधिसभामा कांग्रेस-एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा भने सत्तारुढ गठबन्धन अल्पमतमा छ । यद्यपि भूमिसम्बन्धी अध्यादेश रोक्ने सर्तका कारण राष्ट्रिय सभामा निर्णायक हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको पनि सहयोग रहने सरकारको विश्वास छ । भूमिसम्बन्धी अध्यादेशमा जसपाले अडान लिँदा सरकार अप्ठयारोमा परेको थियो भने अध्यादेशहरु पनि पेस हुन सकेको थिएन ।