
चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए ।
फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ ।
‘अमेरिका र क्यानडाका ७७ हलमा प्रदर्शन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,’ उनले भने ।
अस्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको थियो । ‘विश्वभर एकै दिन सबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ,’ वितरक सुवेदीले भने ।
‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवर्ल्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदै छ । चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।
‘लाज शरणम्’ले पहिलो दिन नेपालमा एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।