काठमाडौँ, फागुन २३ :

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु जोखिमका हिसाबले प्रभावित देशहरूको आवाजको समेत प्रतिनिधित्व गर्ने बताएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘विश्व दिगो विकास सम्मेलन- २०२५’लाई आज सम्बोधन गर्दै मन्त्री ठकुरीले नेपालजस्ता जलवायुका हिसाबले अत्यन्त संवेदनशील पर्वतीय देश र अल्प विकसित देशलाई जलवायु सङ्कट न्यूनीकरणका लागि गरिने लगानीको आवश्यकता तथा अहिलेको वित्तिय अन्तर बारेमा ध्यानाकर्षण गराए ।

नेपाल प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता, जलस्रोत र हिमालयन श्रङ्खलाका मनमोहक परिदृश्यको धनि देश भएको उल्लेख गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणाली, अर्थव्यवस्था र सामाजिक प्रणालीमा गम्भीर सङ्कटको सामना गर्नुपरिरहेको बताएको उनका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले जानकारी दिए । 

हिमाली भेगबाट उत्पत्ति हुने हिमनदी द्रुत गतिमा पग्लिरहेका छन् जसले दक्षिण एसियाको पानी र ऊर्जा सुरक्षालाई खतरामा पार्दै गएको उनले बताए ।

सन् २०२१ देखि सन् २०२४ सम्म जलवायुजन्य विपद्का कारण नेपालले अनुमानित एक अर्ब अमेरिकी डलरको प्रत्यक्ष आर्थिक नोक्सान व्यहोरेको भन्दै मन्त्री ठकुरीले जैविक विविधता र प्रदूषणको सङ्कटसँगै जलवायु सङ्कटले जनताको जीविकोपार्जन, दिगो विकास लक्ष्य र भावी पुस्ताको अस्तित्वलाई नै सङ्कटमा पारेको उल्लेख गरे ।

सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण नेपालको कूल गार्हस्थ्य उत्पादनमा २.२ प्रतिशतको क्षति हुन् सक्ने कुरा एसियाली विकास बैंकको अध्ययनले जनाएको छ । 

नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी- ३) बनाउने अन्तिम तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले सन् २०४५ सम्म काबर्नलगायत अन्य हरित ग्यासको उत्सर्जनलाई शून्यमा झार्ने गरी लक्ष निर्धारण गरेको बताए । विश्व तापमान वृद्धि १.५ डिग्रीमा कायम हुन् सकोस् भन्नेमा आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।